काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैँकको आगामी गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न राखेको प्रस्तावमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका छन् ।
राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न आफूले राखेको प्रस्तावमा ओलीले सहमति जनाएको बुढानिलकण्ठस्थित आफ्नै निवासमा बिहीबार आयोजित पदाधिकारी बैठकमा जानकारी गराएको एक सहभागीले बताए ।
हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको बुझिएको छ । संयन्त्रको बैठकअघि देउवा र ओलीबीच एक्लाएक्लै बैठक भएको थियो ।
समितिका सदस्य डा. विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन् । र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ ।
गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन् बताईएको छ ।
प्रधानमन्त्री ओलीले कायममुकायम गभर्नरको जिम्मेवारी निर्वाह गरिरहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन भने पनि देउवाले डा. भट्टको नाम प्रस्ताव गरेका थिए ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन् । आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि संस्थागत अनुभवी उनी राजनीतिक ‘खेल’ बाट टाढै रहेका व्यक्ति हुन् ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएपछि गभर्नर पद खाली छ ।



















प्रतिक्रिया