काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशस्थित वादी समुदायका एक सय ३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘वादी सरोकार मञ्च नेपाल’लाई महिना दिनभन्दा बढी समयसम्मका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको जनाएको छ ।
यसले संस्थामा आश्रित बालबालिकाको पोषणमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ । वादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायमध्ये एक हो ।
हिक्मत वादीद्वारा सञ्चालनमा ल्याइएको वादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।
हाल संस्थामार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्का र कार्यालयका अन्य अधिकारीहरूले वादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत वादीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।




















प्रतिक्रिया