काठमाडौं । नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेका बेला कार्यवाहक गभर्नर निलम ढुंगानाको चुरीफुरी निकै बढेको छ । उनलाई अर्थमन्त्री बिष्णु पौडेलले धाप मारिरहेका छन् । सोही आडमा उनले आफूलाई नै राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरिसकेकी छिन् ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गभर्नर नियुक्तिको बिषय गिजोलिरहेका छन् ।
गभर्नर नियुक्तिको विषयमा चलेको गुप्त खेल अन्ततः सतहमा आउन थालेको छ । देखिने रूपमा डा. निलम ढुंगाना अग्रसर देखिएपनि पर्दा पछाडिको असली खेलाडी भने अर्थमन्त्री विष्णु पौडेलनै भएको तथ्य बाहिरिएको छ । गभर्नर बन्ने दौडमा बलियो दावेदार मानिएका डा. गुणाकर भट्टलाई किनारा लगाउने रणनीति यिनै दुई जनाको मिलेमतोमा भएको पाईएको हो ।
भट्टले दिएको राजीनामा निलम ढुंगानाले अस्वीकार गरेकी छन् । तर त्यो निर्णय पनि उनको व्यक्तिगत होइन, अर्थमन्त्री पौडेलको इसारामा भएको खुलेको छ ।
कार्यवाहक गभर्नर नीलम ढुंगानाले नियतवश राष्ट्र बैंकको कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्ट र अर्का कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेर प्रतिशोध साधेकी छिन् ।
आँफू गभर्नर बन्न नपाउने भएपछि ढुंगानाले भट्ट र श्रेष्ठको बाटो छेक्न न्वारान देखिको बल लगाउन थालेकी छिन् ।
स्रोतका अनुसार, पौडेलले आफ्नै निकट व्यक्तिलाई गभर्नरको कुर्सीमा पुर्याउने रणनीतिअनुसार भट्टलाई ‘निपटाउने’ खेल चलाएका हुन् । यसरी उनले ‘टेक्नोक्र्याट’ निर्णयलाई ‘पोलिटिकल म्यानिपुलेसन’ बनाएका छन् ।
निलम ढुंगानाले त आफ्नै हैसियत बनाएर राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष पदमा आफूलाई घोषणा गर्ने काम समेत गरेकी छन्—जुन पूर्णतः कानुनविपरित र संस्थागत मर्यादा विपरीत कदम हो । यस्तो हर्कतले राष्ट्र बैंकजस्तो संवेदनशील नियामक संस्थाको विश्वसनीयता र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।
निरपेक्ष रूपमा काम गर्नुपर्ने राष्ट्र बैंकलाई सत्ताको भर्र्याङ् बनाएर अर्थमन्त्रीले जे-जस्तो हस्तक्षेप गरिरहेका छन्, त्यो नेपालका आर्थिक संरचनाको लागि घातक बन्ने। जानकारहरु बताउँछन्। यसबाट पनि राष्ट्र बैंक कुनै व्यक्तिको निर्देशनमा चल्ने कम्पनी जस्तै भएको छ । देशको आर्थिक मेरुदण्डका रुपमा मानिएको राष्ट्र बैंकको नेतृत्व चयनमा देखिएको सकस र खुट्टा तान्ने प्रवृत्तिले अर्थतन्त्रमा थप संकट निम्त्याएको छ ।
मन्त्री पौडेलको निर्देशनमा निलमको अभिनय र पर्दा पछाडिको विष्णुको निर्देशनमा चल्ने नाटक अब धेरै समय लुकिरहने छैन ।
कार्यकारी निर्देशक भट्टको राजिनामा स्वीकृत नगरी उल्टै नियुक्ति सिफारिस नहुँदै अदालतमा मुद्दा दायर गरिनुले पनि यसभित्र चलखेल छ भन्ने कुरा क्लियर छ। सिफारिस मै नपरेका व्यक्तिलाई अयोग्य भन्दै रिट दर्ता गर्नुले पनि अर्थतन्त्र बन्धक बनाउन अर्थमन्त्री नै सक्रिय छन् भन्दा अत्युक्ति हुँदैन ।
प्रतिक्रिया