काठमाडौं । उपभोक्ताले अहिलेसम्म मुलुकभर एउटै मूल्यमा सबैभन्दा सस्तोमा पाउँदै आएको नुन अब साउनबाट पाउने छैनन् ।
वैशाख २२ को राजपत्रमा प्रकाशित सूचना अनुसार आगामी साउन १ बाट साल्ट ट्रेडिङ्गले विक्री गर्दै आएको नुनको कारोवार खोसेर निजी क्षेत्रलाई दिने निर्णय वैशाख २ गते गरी सकेको खुल्न आएको छ ।
जनताको स्वास्थसँग सरोकार राख्ने जस्तो गम्भीर विषयमा सरकारले निश्चित व्यवसायीको स्वार्थ पूरा गर्न ३ करोड भन्दा बढी जनताको स्वास्थ र भान्सासंग खेलवाड गरेको र यस्तो गम्भीर निर्णयमा सत्ता साझेदार कांग्रेसको पनि सहभागीता रहनु आश्चर्य मानिएको छ ।
साल्ट ट्रेडिङ्गबाट नुनको कारोवार खोस्न तत्कालिन राज्य मन्त्री रहेका कथित व्यापारी मोतीलाल दुगड, दीपक मलहोत्रा, शशिलालकान्त अग्रवाल जस्ता वर्तमान सत्ता निकटका अग्रपंक्तिमा रहेका थिए ।
अहिले पनि उनीहरुकै योजना अनुसार नुनको कारोवार हत्याउन सरकारलाई प्रयोग गर्न सफल भएका छन् । विगत चार वर्ष पहिले केपी ओली प्रधानमन्त्री रहँदा विष्णु पौडेल नै अर्थमन्त्री हुँदा नुनको कारोवारमा निजी क्षेत्रलाई पनि संलग्न गराउने भन्दै बजेट नीतिमै घुसाइएको थियो ।
त्यस बेला सरकार परिवर्तन भए पछि रोकिएको यो निर्णय अहिले फेरि कार्यान्वयनमा लैजाने सरकारको निर्णयले ३ करोड नेपाली जनताको स्वास्थ र भान्सासँग सरकारले घात गरेको मानिएको छ ।
साल्ट ट्रेडिङ्गबाट नुन खोसेर व्यवसायीलाई सुम्पने यो निर्णयका पछाडी निकै ठूलो आर्थिक चलखेल भएको खबर चर्चामा उल्लेख छ । जनसरोकार सम्बन्धी यो विवादीत विषयमा सत्ता साझेदार कांग्रेसले चार वर्ष अघि गरेको विरोध अहिले चुपचाप समर्थन गरेकोमा आश्चर्य मानिन्छ ।
विगतमा मोतिलाल दुगडले सेन्चुरी मसला उद्योगबाट बजारमा रु.२० प्रति केजी विक्री हने नुन बट्टामा भरेर रु. ३५ मा विक्री गर्दा कारवाहीमा परेका थिए ।
प्रतिक्रिया