काठमाडौ । नेपालले आज सम्पन्न आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ। स्कटल्याण्डको डन्डीस्थित फोर्थिल मैदानमा सम्पन्न खेलमा नेपालले २२५ रनको लक्ष्य ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा २२५ रन बनाएको थियो। जवाफमा नेपालले सन्तुलित ब्याटिङ गर्दै सहज जित हासिल गर्यो।
नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका प्रहार गर्दै उत्कृष्ट ७८ रन बनाए। उनी ‘म्यान अफ द म्याच’ घोषित भए। दिपेन्द्र सिंह ऐरीले पनि ५१ बलमा ३ चौका सहित ३८ रनको अविजित योगदान दिए। अन्त्यतिर गुलशन झाले मात्र ४ बलमा ११ रन बनाउँदै जित सुरक्षित गरे।
यसअघि, नेपालका ओपनर कुशल भुर्तेलले २५, आसिफ शेखले १९, भीम शार्कीले ११ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए।
नेपालले कुल २१ रन अतिरिक्तमार्फत पाएको थियो, जसमा १८ वाइड पनि समावेश थिए।
नेपालको जितसँगै अब अंकतालिकामा स्थिति मजबुत बन्दै गएको छ। नेपालको बलिङ पनि सशक्त रह्यो, जसमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीले प्रभावशाली प्रदर्शन गरेका थिए।
प्रतिक्रिया