Logo

खेलकुद

फिफा क्लब विश्वकप २०२५ : यी ५ स्टार खेलाडी मैदानबाहिरै हुने



काठमाडौं । अमेरिकामा १४ जुनदेखि सुरु हुँदै गरेको फिफा क्लब विश्वकप २०२५ ले फुटबलप्रेमीहरूलाई उत्साहित बनाएको छ। विश्वभरका ३२ उत्कृष्ट क्लबबीच एक महिनासम्म चल्ने यो प्रतियोगिताले खेलकुदको उच्चतम स्तर प्रस्तुत गर्नेछ। तर, केही स्टार खेलाडीहरू भने यसपालि मैदानमा देखिने छैनन्। चोट, क्लबको छनोट असफलता र व्यक्तिगत निर्णयका कारण यी खेलाडीहरूको अनुपस्थिति प्रतियोगिताको आकर्षणमा केही कमी ल्याउनेछ।

यहाँ प्रस्तुत छन् पाँच चर्चित खेलाडी, जो २०२५ को क्लब विश्वकपमा नदेखिने पक्का भइसकेको छ:

१. मोहम्मद सलाह (लिभरपुल)

इंग्लिस प्रिमियर लिगमा सानदार प्रदर्शन गर्दै २९ गोल र १८ असिस्ट गरेका लिभरपुलका इजिप्टियन विङ्गर मोहम्मद सलाह, क्लबले प्रतियोगिताका लागि छनोट नपाएपछि फिफा क्लब विश्वकपमा सहभागी हुन पाउने छैनन्। सलाह अहिले विश्रामको अवस्थामा छन् र उनले केही समयअघि घाम ताप्दै गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए। लिभरपुलको अनुपस्थितिले विश्वकपको प्रतिस्पर्धात्मकता र स्टार पावरमा कमी ल्याउने निश्चित छ।

२. लामिन यमाल (बार्सिलोना)

१७ वर्षीय लामिन यमाल पछिल्लो समय विश्व फुटबलमा निकै चम्किएका युवा खेलाडी हुन्। बार्सिलोनाको अनुपस्थितिका कारण यमाल पनि प्रतियोगितामा सहभागी हुने छैनन्। बालोन डी’ओरको सम्भावित दावेदार मानिएका यमालको तीव्र गतिको ड्रिब्लिङ र आक्रामक शैली यसपटक दर्शकले छुटाउने छन्। बार्सिलोनाको टोलीले यमालको नेतृत्वमा नयाँ युगको संकेत दिएको थियो, तर क्लब विश्वकपमा त्यो यात्रा रोकिएको छ।

३. क्रिस्टियानो रोनाल्डो (अल-नासर)

पाँच पटक बालोन डी’ओर जितेका क्रिस्टियानो रोनाल्डोलाई फिफा क्लब विश्वकप २०२५ मा देख्न नपाउनु फुटबलप्रेमीका लागि ठुलो निराशा हो। साउदी क्लब अल-नासरले प्रतियोगिताका लागि छनोट हुन सकेन। ४० वर्षीय रोनाल्डोले अझै पनि आफ्नो फॉर्म कायम राखिरहेका छन् र गत साता पोर्चुगललाई युएफा नेसन्स लिगको उपाधि जिताउन मद्दत गरेका थिए। तर, क्लबस्तरमा उनको अनुपस्थितिले प्रतियोगिता थप निस्तेज हुने देखिन्छ।

४. बुकायो साका (आर्सनल)

इंग्ल्याण्डका युवा स्टार बुकायो साका र उनको क्लब आर्सनलले यो प्रतियोगिता गुमाउने भएका छन्। च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आर्सनल अन्ततः पीएसजीसँग पराजित हुँदै बाहिरिएको थियो। २०२० मा एफए कम्युनिटी शिल्ड जितेपछिको यो साका र आर्सनलका लागि उपाधि जित्ने अर्को राम्रो अवसर हुन सक्थ्यो। तर, क्लबसँगै साकाको पनि क्लब विश्वकप यात्रा अधुरो रह्यो।

५. नेमार (सान्तोस)

ब्राजिलियन सुपरस्टार नेमार हालै साउदी क्लब अल-हिलालबाट चोटका कारण टाढा थिए। उनी हाल सन् २०२५ को सुरुमा आफ्नो पुरानो क्लब सान्तोस फर्किएका छन्, तर फिटनेस अभावका कारण क्लब विश्वकपमा उनी सहभागी हुने छैनन्। ३३ वर्षीय नेमारको ग्ल्यामर र खेल कौशल प्रतियोगिताका लागि ठूलो योगदान हुन सक्थ्यो, तर उनका फ्यानहरूलाई अझ केही समय पर्खनुपर्ने भएको छ।

फिफा क्लब विश्वकप २०२५ खेल स्तर र मनोरञ्जनका दृष्टिले अत्यन्त रोमाञ्चक हुने पक्का भए पनि, यस्ता ठूला स्टारहरूको अनुपस्थितिले केही कमी अवश्य महसुस हुनेछ। तैपनि, प्रतियोगितामा उपस्थित क्लब र खेलाडीहरूले नयाँ नामहरू उदाउने मौका पाउने छन्, जसले विश्व फुटबलमा अर्को अध्याय लेख्न सक्छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार १५:२०   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।