काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले अर्जेन्टिनी युवा स्टार फ्रान्को मास्टान्टुओनोलाई औपचारिकरूपमा अनुबन्ध गरेको छ। १७ वर्षीय मास्टान्टुओनो रिभर प्लेटबाट ४५ मिलियन युरोमा रियल मड्रिड पुगेका हुन्, जुन अर्जेन्टिनी क्लबका लागि इतिहासमै सबैभन्दा महँगो स्थानान्तरण बनेको छ।
अर्जेन्टिनी राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान राखेका मास्टान्टुओनो पछिल्ला दुई सिजनदेखि रिभर प्लेटको पहिलो टोलीमा नियमित थिए। बोका जुनियर्सविरुद्धको चर्चित डर्बी खेलमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीका रूपमा उनले कीर्तिमान राखेका थिए।
गत हप्ता सम्पन्न विश्वकप छनोट अन्तर्गत चिलीविरुद्धको खेलमा अर्जेन्टिनाको तर्फबाट वैकल्पिक खेलाडीका रूपमा मैदानमा उत्रिएका मास्टान्टुओनोले १६ वर्ष १० महिनाको उमेरमै अन्तर्राष्ट्रिय डेब्यू गर्दै राष्ट्रिय टोली इतिहासमा नयाँ अध्याय लेखेका थिए।
अट्याकिङ मिडफिल्डरको रूपमा चिनिने मास्टान्टुओनोसँग रियल मड्रिडले ६ वर्षको सम्झौता गरेको छ। उनले युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। युवा प्रतिभालाई प्राथमिकता दिने रणनीतिमा रहेको रियल मड्रिडले यसअघि लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड र बर्नमाउथका डिन हुज्सेनलाई पनि अनुबन्ध गरिसकेको छ। मास्टान्टुओनो यस गर्मीमा क्लबमा आउने तेस्रो नयाँ खेलाडी हुन्।
रियल मड्रिडले मास्टान्टुओनोबाट दीर्घकालीन योगदानको अपेक्षा गरेको छ, र क्लबका प्रशिक्षक तथा व्यवस्थापनले उनलाई भविष्यको महत्त्वपूर्ण खेलाडीका रूपमा हेरेका छन्। युवा उमेरमै यति ठूलो मूल्यमा युरोपियन क्लबमा प्रवेश गर्नु मास्टान्टुओनोकै असाधारण क्षमताको प्रमाण हो।
प्रतिक्रिया