काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यसअघि भन्दा भिन्न शैलीमा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुँदै आफ्ना अभिव्यक्ति दिएका छन् ।
बैठकको पहिलो दिन नै आफ्ना कुरा राखेका कोइरालाले आफ्ना केही तितो अनुभव सुनाउन चाहेको बताए ।
तितो अनुभव वास्तविकतामा आधारित भएको सुनाउँदै कोइरालाले नेताहरूलाई बोल्न सुरु गर्नुअघि नै चित्त दुखाए ।
वर्तमान सरकार, गठबन्धन, पार्टीभित्रका समस्या, अनुशासन समितिको व्यवहार लगायतका विषयमा उनले पार्टी नेतृत्वको जवाफ बैठकमा खोजे ।
यही वर्षको मंसिरमा १५ औँ महाधिवेशन हुन नसक्ने भए त्यसको जवाफ सभापति शेरबहादुर देउवा र पदाधिकारीले दिनुपर्ने उनको भनाइ थियो ।
यसअघिका बैठकमा उनले यसरी सायदै प्रश्न गर्ने गर्थे । उनीबारे जानकार नेताहरूका अनुसार, कोइरालाको आजको प्रस्तुति फरक र विल्कुल नयाँ शैलीको थियो ।
नेता कोइरालाले महाधिवशेन गर्नुपर्नेमा आफू अहिले पनि दृढ रहेको सुनाउँदै भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो ।
पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’
कोइरालाले सत्ताको नेतृत्व एमालेलाई दिएकोप्रति असन्तुष्टि बैठकमा जनाए ।
‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ ।
के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?,’ नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो रु सभापतिज्यूले यसको चितबुझ्दो जवाफ दिनुपर्छ ।’
कोइरालाले अनुशासन समितिको प्रसंग पनि बैठकमा उठाए । अनुशासन समितिको बैठकमा पार्टी सभापतिले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर बोलेको प्रसंग उठाए । सभापतिले के आधारमा भनेको भनी जवाफ मागे ।




















प्रतिक्रिया