Logo

खेलकुद

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो



काठमाडौं । भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘ए’को खेलमा सिंगापुरलाई ३–२ गोलले पराजित गरेको छ ।
भुटानले फिफा वरियतामा आफू भन्दा ३२ स्थानमाथि रहेको सिंगापुरलाई हराएको हो । वरियतामा सिंगापुर १३९ औं स्थानमा छ भने भुटान १७१ औं स्थानमा छ ।

सोमबार भएको खेलको पहिलो मिनेटमै येशे बिधाले सिंगापुरको डिफेन्सबाट क्लियर नभएको बललाई सदुपयोग गर्दै भुटानलाई सुरुआती अग्रता दिलाइन्। तर नवौं मिनेटमै सिंगापुरकी अर्ध्रा गणेश्वरनले रिबाउन्डमा गोल फर्काउँदै स्कोर बराबरीमा ल्याइन्।
२६औं मिनेटमा भने भुटानी गोलकिपर संगिता मङ्गरको गल्तीले सिंगापुरलाई २–१ को अग्रता दिलायो। डोर्जी एडोनको ब्याकपासलाई संगिताले नियन्त्रण गर्न नसकेपछि बल सिधै गोल पोस्टमा पुग्यो।

तर दोस्रो हाफमा भुटानले उत्साहजनक प्रदर्शन गर्‍यो। ६७औं मिनेटमा डोर्जी एडोनकै हेडमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काइन्।
खेलको ८७औं मिनेटमा धेकी ल्हाजोमको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको बलमा सुनिता राईले समयमै प्रतिक्रिया जनाउँदै निर्णायक गोल गरिन्

प्रकाशित मिति : २३ असार २०८२, सोमबार २२:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।