Logo

अनलाइनपाना खोज

वाणिज्य बैंकहरुको २ खर्ब ३२ अर्बबढी रकम घरजग्गामा लगानी, कुन बैंकको कति ?



काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा नेपालका वाणिज्य बैंकहरुले घरजग्गामा सवा २ खर्ब रुपैयाँभन्दा बढी रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा ७.०३ प्रतिशतले बढी लगानी गरेका हुन्।

संचालनमा रहेका २० वटा वाणिज्य बैंकले जेठ मसान्तसम्म घरजग्गामा कुल २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।

यस अवधिमा घरजग्गामा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकले जेठसम्म २५ अर्ब ६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले बढी हो।

त्यस्तै, जेठ मसान्तसम्ममा घरजग्गामा लगानी गर्ने दोस्रो स्थानमा एनआईसी एसिया बैंक छ। यस बैंकले ११ महिनामा २४ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा यस बैंकको कर्जा लगानी भने १४.६० प्रतिशतले घटेको छ।

त्यसैगरी घरजग्गामा सबैभन्दा बढी लगानी गर्ने तेस्रो स्थानमा नबिल बैंक रहेको छ। जसले २४ अर्ब ३६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। नबिल बैंकको यो लगानी गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ६.९७ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा संचालनमा रहेका १५ वटा वाणिज्य बैंकले घरजग्गामा लगानी बढाएका छन् भने ५ बैंक वटाले घटाएका छन्। यस अवधिमा कुमारी बैंकको घरजग्गा कर्जा लगानी ८४.४२ प्रतिशतले बढेको छ भने नेपाल बैंकको कर्जा लगानी ४२.७७ प्रतिशतले घटेको छ। यस अवधिमा हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकले घरजग्गा कर्जा लगानी घटाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १२:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।