Logo

अर्थ

हबिब बैंकले हिमालयन बैंकको सेयर बिक्री प्रक्रिया अघि बढाउँदै, नेशनल लाईफसँग सम्पर्क गर्दै



काठमाडौं । पाकिस्तानबाट हबिब बैंकले हिमालयन बैंकको सेयर सम्बन्धमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई आज सम्पर्क गर्ने भएको छ । हबिब बैंकको सेयर खरिदको लागि नेशनल लाईफ मात्रै योग्य देखिएपछि प्रक्रिया अघि बढेको हो ।

हिमालयन बैंकको सेयर बिक्रीको चाहना राख्नेमा नेशनल लाईफ मात्रै योग्य देखिएको र सो जानकारी हबिब बैंकको केन्द्रिय कार्यालयमा पुर्याइएको छ ।

हिमालयन बैंकमा हबिब बैंकको सेयर बिक्रीका लागि दोस्रो पटक आवेदन माग गरिएको थियो । यसपटक प्राप्त तीन आवेदनहरूमध्ये नेशनल लाईफ मात्र योग्य ठहरिएपछि अब बाँकी प्रक्रिया संयुक्त रुपमा अघि बढाइने छ ।

नेपालको बैंकिङ नियमनअनुसार संस्थापक सेयर बिक्री हुँदा पहिलो प्राथमिकता अन्य संस्थापक सेयरधनीलाई दिइन्छ । सिभिल र हिमालयन बैंक मर्ज भएपछि सिभिल बैंकमार्फत नेशनल लाईफ हिमालयन बैंकको संस्थापक सेयरधनी बनेको थियो । यही आधारमा नेशनल लाईफले हबिबको सेयर खरिद गर्ने कानुनी अघिकार पाएको हो ।

हिमालयन बैंक स्रोतका अनुसार सेयर खरिदको लागि नेशनल लाईफले सम्पूर्ण सेयर किन्न चाहेको व्यहोरा हबिब बैंकलाई जानकारी गराइएको छ । शुक्रबार खोलिएको आवेदनपछि शनिबार र आइतबार बिदा परेकाले सोमबारदेखि दुबै पक्षबीच छलफल सुरु हुने बताइएको छ ।

हबिब बैंक विगत केही वर्षदेखि नेपालको बैंकिङ बजारबाट बाहिरिन चाहिरहेको थियो । सिभिल बैंकसँगको मर्ज प्रक्रिया अघि देखिनै यसले हिमालयन बैंकबाट सेयर बिक्रीको प्रयास गर्दै आएको थियो । तर, विगतमा प्रस्तावित सम्झौता सफल हुन नसकेपछि सेयर बिक्री रोकिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १४:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।