प्रधानमन्त्री समेत रहनु भएका खड्गप्रसाद शर्मा ओलीमाथि चुनौतीहरु थपिने क्रम बढेको छ ।
सरकारको नेतृत्वकर्ता भएकाले हुने चुनौतीभन्दा पनि नेकपा (एमाले) को अध्यक्ष भएकाले उहाँमाथि चुनौती थपिएको हो । सरकारलाई टिकाउनेदेखि एमालेभित्र उत्पन्न समस्या समाधान गर्नेसम्मको चौतर्फी चुनौतीमा ओली पर्नु भएको छ ।
सरकारलाई टिकाउनका लागि भगीरथ प्रयास गरिरहनु भएका ओलीका लागि हिजो आफ्नै भनिएकाहरुले एमालेभित्र चुनौती दिइरहेको अवस्था छ । ओलीलाई सरकार र आफ्नो दल हाँक्नका लागि अहिले दुईटा डुंगामा शयर गर्नुजस्तै भएको बताइने गरिएको छ ।
ओलीले दुईतिर गोडा राख्दा चुनौतीहरु थपिने क्रम बढेको बताइएको छ । सरकार सञ्चालनमा समेत ओलीमाथि समस्या देखिएको छ ।ओलीको वर्तमान सरकारलाई समर्थन दिएर समर्थन फिर्ता लिएका दलहरुको विषयलाई लिएर सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।
जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकारले विश्वासको मत लिनु पर्ने कि नपर्ने भन्ने विषय अदालतमा प्रवेश गरेको छ ।
अदालतले पनि सो विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ । यस्तो अवस्थामा ओलीले उस्तै परे विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ ।
अहिलेको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ पाएको हुँदा ओलीलाई बहुमत पु¥याउन गाह्रो नभए पनि यो प्राविधिक विषयले समय अल्झाउने अवस्था देखिएको छ । ओलीले संविधानको व्यवस्थालाई पालना गर्दा उस्तै परे कांग्रेस बटारिने हो कि भन्ने भय समेत लिनु परेको छ । यसैगरी सरकारमा रहेका तराई केन्द्रित दलहरुले मन्त्रीहरु परिवर्तनका लागि भनी ओलीलाई अनुरोध गरेका छन् ।
खासगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलबाट सरकारमा गएका मन्त्री परिवर्तन गरिदिन भनी ओलीलाई पत्र थमाएको पनि महिना नाघिसकेको छ ।
यसैगरी यसै साता जनता समाजवादी पार्टीले समेत आफ्ना दुवै मन्त्रीहरुलाई फेरबदल गरिदिन भनी ओलीलाई पत्र पठाएका छन् । त्यसो त ओली स्वयम् पनि आफ्ना दलका कतिपय मन्त्रीहरु परिवर्तन गर्ने पक्षमा रहेका छन् ।
उनले कांग्रेसबाट मन्त्री बनेकाहरुलाई समेत परिवर्तन गर्नका लागि भनी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनेको कुरा पनि आइरहेको छ । उता, देउवा भने अहिले आफ्नो दलबाट भएका मन्त्रीहरु परिवर्तन गर्ने पक्षमा नदेखिएको अवस्था छ ।
यस्तो स्थितिमा ओलीले मन्त्रीहरुको विषयमा समेत कुनै निर्णय लिन नसकेको अवस्था छ । यसैगरी उखु किसानदेखि मल नपाएका किसानहरु समेत आन्दोलित छन् । शिक्षकदेखि कवाडीवालाहरुले समेत काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
यस्तो अवस्थामा ओलीमाथि सरकार चलाएको चाप पनि परिरहेको छ । कतिपय अवस्थामा मिलिजुली सरकार रहेकाले चाहेर पनि आफूखुशी सरकार सञ्चालन गर्न नपाएको अवस्थामा ओली रहनु भएको छ । सरकारले एक वर्षको समयसीमा नघाई सक्दा पनि सरकारले जनताको पक्षमा खासै काम गर्न नसकेको भनी आलोचना पनि खेप्नु परिरहेको छ । सरकारमा रहेका दलहरुका बीचमा नै मतैक्यता हुन सकेको छैन ।
दलहरु पनि आन्तरिक समस्यामा देखिएकाले त्यसको असर पनि सरकारलाई परिरहेको छ । उता, ओली आफ्नै दलको चत्रब्युहमा परिरहनु भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी ओलीका लागि अहिले गलपासो जस्तै बन्नु भएको छ । ओलीले तेस्रो कार्यकाल समेत आफैं अध्यक्ष बन्ने तयारी गरिरहेको अवस्थामा भण्डारीले ओलीलाई चुनौती दिंदै आउनु भएको छ ।
पूर्वराष्ट्रपतिको हैसियतमा चूप लागेर बस्न भनी ओली र ओली पक्षधरहरु भन्ने गरे पनि भण्डारीले आफू अघि बढिसकेको वताउँदै आउनु भएको छ । बुधबार ओलीले प्रधानमन्त्री निवासमा काठमाडौं उपत्यकाका तीन जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला डाकी एमाले भित्रको अवस्थालाई झनै सार्वजनिक गर्ने कार्य गर्नु भएको छ ।
ओलीले आप्mनो विकल्प एमाले भित्र खोज्ने समय नआएको भन्दै भण्डारीले पदीय हैसियत विर्सिएर सक्रिय राजनीतिमा आउने भन्नु ठीक होइन भन्ने मन्तव्य राखेको सहभागीहरुले वताएका छन् ।
उता, भण्डारी भने आफू अघि बढिसकेको भन्दै पछि नहट्ने पक्षमा देखिनु भएको छ । सोही कारण भण्डारीले विपक्षी मानिएका कतिपयसँग भेट गरी आफू भोलिका दिनमा विकल्प खोज्न सक्ने बताउने गर्नु भएको छ ।
भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेर आफूलाई झनै सक्रिय राख्न चाहिरहनु भएको छ । उक्त सम्पर्क कार्यालय मदन भण्डारी फाउण्डेसनका लागि भनी भाडामा लिइए पनि भण्डारीको लागि सक्रिय बन्ने कार्यालय बनेको स्रोतले वताएको छ ।
ओलीका विरोधीसँग भण्डारीको बाक्लो भेटघाट
राजनीतिबाट टाढा राख्ने र सदस्यता नवीकरण समेत नगर्ने नेकपा (एमाले) को निर्णयपछि पूर्वराष्ट्रपति समेत रहेर फेरि राजनीतिमा फर्कने तयारी गरेकी छन् – विद्यादेवी भण्डारीले ।
आफ्नो पक्षमा समर्थन जुटाउन विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्नेदेखि समसामयिक राजनीतिमा उनी केन्द्रित बन्न थालेको जानकारहरुले बताएका छन् । खासगरी एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका विरोधीहरुसँगको भेटघाटलाई तीब्र बनाएकी छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झासँग भण्डारीले डेढ घण्टा लामो कुराकानी आफ्नै निवासमा गरेकी थिइन् । दुई कार्यकाल राष्ट्रपति बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी भण्डारीले कार्यकारी प्रधानमन्त्री बन्ने सपना देखेर राजनीतिमा फर्किएको चर्चा चलेको छ ।
उमेरले ६४–६५ वर्षमात्र पुगेको बताएर अझै १०–१५ वर्ष सकृय राजनीति गर्ने उद्देश्यले बानेश्वरको थापागाउँमा कार्यकर्ताहरु भेटघाटका लागि सम्पर्क कार्यालय समेत खोलेको जानकारहरुले बताएका छन् ।
भेटघाटका क्रममा उनले भ्रष्टाचारको मुद्दा लागेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सहकारी ठगी मुद्दामा पुर्पक्षका क्रममा थुनामा रहेका रवि लामिछानेको बचाउमा अभिव्यक्ति दिएकी समाचार स्रोतले बताएको छ ।
संसद निरीह भएको र सरकार ओलीका कारण भ्रष्ट भएको भन्दै आक्रोशपूर्ण भनाई उनले व्यक्त गरेकी थिइन् । यस्तै, ओलीको चर्का आलोचना गर्ने नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई भेटी सबै दलहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बताएको स्रोतले जानकारी दिएको छ ।
‘म एमालेमै सकृय हुन चाहन्छु र अगाडि पनि बढिँसके, कुन बाटो हिंड्ने भन्ने मात्र बाँकी हो, पछि फर्कने होइन । एमाले मेरो पनि पार्टी हो । मैले ४५ वर्ष काम गरेको पार्टी हो, मेरो इच्छा यही पार्टीमा योगदान गर्ने छ’ भनेर उनले सकृयता बढाएको बताइएको छ ।
यसपछि एमाले भित्र अध्यक्ष ओली इतरका पक्षधर नेताहरुले विभिन्न प्रदेश कमिटिहरुमा समेत भण्डारीको सदस्यता रोक्न नहुने बताएपछि ओली समेत समस्यामा पर्दै आएका खबर नयाँ विमर्शमा उल्लेख छ । आज १३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा यो विषय झन चर्किने भएपछि स्थगित भएको समाचार श्रोतले बताएको छ ।
भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि एमाले स्पष्ट रुपमा दुई कित्तामा विभाजन भएको र ओलीको एकाधिकार एवं निरंकुश कार्यशैली समाप्त भएको चर्चा चलेको छ ।





















प्रतिक्रिया