काठमाडौं । जेनजी समूहले हालै विभिन्न उद्योगी–व्यवसायीका निजी सम्पत्तिमा गरेको तोडफोड तथा आगजनीले मुलुकको समग्र लगानी वातावरणमा त्रास उत्पन्न गरेको छ ।
यसमा नेपालकै चर्चित व्यवसायी विनोद चौधरीद्वारा संचालित चौधरी ग्रुप सबैभन्दा बढी प्रभावित बनेको छ भने अन्य दर्जनौँ व्यवसायी समेत आगजनीको सिकार बनेका छन् । यसले दीर्घकालमा देशको अर्थतन्त्र र बजार सन्तुलनमै गम्भीर असर गर्ने संकेत देखिएको छ । तोडफोड र आगजनीका कारण करोडौं मूल्यका सम्पत्ति नष्ट भएको छ ।
चौधरी ग्रुपलगायत ठूला व्यवसायी प्रभावित भएपछि उत्पादन, आपूर्ति श्रृंखला र रोजगारीमा प्रत्यक्ष असर पर्ने संकेत देखिएको छ । निजी सम्पत्तिको सुरक्षा नभएको भन्दै व्यवसायीहरूले लगानीको मनोबलमा आघात पुगेको बताएका छन् । जेनजी समूहले काठमाडौंको थापाथली क्षेत्रका विभिन्न निजी कम्पनीका गाडी शोरुमहरूमा व्यापक तोडफोडसँगै आगजनी गरेको छ ।
उक्त समूहले सिजी मोटर्स, मारुती सुजुकी, हुण्डाई, महिन्द्रा, टाटालगायतका विभिन्न ब्राण्डका शोरुमहरूमा आगजनी गरी पूर्ण रूपमा ध्वस्त बनाएका छन् । यस घटनापछि व्यवसायीहरु नेपालमा लगानी सुरक्षित नभएको भन्दै थप आक्रोशित बनेका छन् ।
जेनजी समूहको तोडफोड र आगजनीबाट महिन्द्रा ब्राण्डका ३ वटा, सुजुकी ब्रान्डका ११ वटा सिप्रदी ट्रेडिङ (टाटा) का ४ वटा सवारीसाधनमा क्षति पुगेको छ । त्यस्तै सिजी मोटर्स अन्तर्गतका १४ वटा गाडीमा आगजनी गरिएको छ भने हुण्डाईको शोरूम तोडफोड गरिएको छ ।
यतिमात्र होइन, अर्बौं रुपैयाँको लगानीमा स्थापना गरिएका निजी होटल व्यवसायमा समेत जेनजी समूहले आगजनी तथा तोडफोड गरेका छन् । यस समूहले व्यवसायी मिन बहादुर गुरुङद्वारा संचालित देशभरका भाटभटेनी सुपरमार्केट, टेलिकम कम्पनी, विद्यालयहरूमा समेत तोडफोड र आगजनी गरेको छ ।
यसबाट व्यवसायीहरु आतंकित बनेका छन् । यसले घटनाले देशको समग्र अर्थतन्त्रको मेरुदण्डमा नै प्रहार गरेको छ। राजनीतिक अस्थिरता र कानुनी अस्पष्टताको चुनौती बनेको नेपालमा एकपछि अर्को गर्दै देखिएको हिंसात्मक गतिविधिले निजी लगानीकर्तालाई थप हतोत्साहित बनाएको छ । साथै विदेशी लगानीकर्ताले पनि नेपालमा पूँजी सुरक्षित नरहेकोमा थप लगानी रोक्ने र गरिएको लगानी समेत फिर्ता लैजाने सम्भावना बढेर गएको छ ।
परिवर्तनका नाममा निजी तथा सार्वजननिक उद्योगहरुमा भएको आक्रमण र क्षतिले हजारौँ श्रमिकको रोजगारी संकटमा परेको छ भने उपभोक्ताले अतिआवश्यक वस्तु तथा सेवा समेत महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने देखिएको छ ।
अर्बौंको लगानीमा स्थापना गरिएको चौधरी ग्रुप लगायतका निजी कम्पनीहरुमाथिको आक्रमणले हजारौंको नेपालीले रोजगारी गुमाएका छन् यसबाट राज्यको कर संकलन र बजार सन्तुलनमा समेत संकट आउनु निश्चित छ । निजी व्यवसायीहरुले गरेको अर्बौको लगानी क्षणभरमै खरानी भएको छ । तर पनि जटिल परिस्थिती अझै जटिल नबनोस् भन्ने उदेश्यले फेरी उठ्ने र यथास्थितिमै फर्केर देश सम्बृद बनाउने प्रण गरिरहेका छन् ।





















प्रतिक्रिया