Logo

अर्थ

जेनजी आन्दोलनबाट २२ अर्बभन्दा बढीको बीमा दाबी, सबैभन्दा धेरै ओरियन्टल इन्स्योरेन्समा



काठमाडाैं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका निजी सम्पत्ति र व्यवसायीहरूबाट अहिलेसम्म २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आइतबारसम्म २ हजार ४७८ वटा बीमालेखमार्फत बीमितहरूले २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरेका हुन् ।

प्रदर्शनका क्रममा काठमाडौँको पाँचतारे होटल हिल्टनमा मात्र करिब ८ अर्ब रुपैयाँको क्षति पुगेको छ । साथै, भाटभटेनी सुपरस्टोर, सीजी ग्रुपसहित थुप्रै कर्पोरेट हाउसहरूमा ठूलो क्षति पुगेको थियो ।

सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्समा

बीमा कम्पनीमध्ये सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ, जसमा ५ अर्ब २२ करोड रुपैयाँ बराबरका ७३ वटा दाबी दर्ता भएका छन् । त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब बराबरका २७९ वटा र आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोडका १७० वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

जेनजी प्रदर्शनबाट शिखर इन्स्योरेन्मा पनि २ अर्ब ३९ करोडबराबरको ३७४ वटा बिमा दाबी माग हुँदा सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्समा १ अर्बमाथिको दाबी परेको छ । सानिमा जीआईसी, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, प्रभु इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा करोडमा दाबी माग गरेको हो। जसमा सानिमा जीआईसीमा मात्रै ८१ करोड माथिको बिमा दाबी परेको हो ।

योबाहेक स्टार माइक्रो, ट्रष्ट माइक्रो र नेपाल माइक्रोमा भने थोरै दाबी परेको छ । यी कम्पनीहरुमा क्रमशः ७२ लाख, ४४ लाख र ४१ लाख बराबरको दाबी परेको हो ।

बागमती र कोशीमा सबैभन्दा धेरै

प्राधिकरणका अनुसार बागमती प्रदेश, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै दाबी परेको छ । बागमतीमा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँबराबरको १ हजार ३४३ वटा बिमा दाबी पर्दा कोशी प्रदेशमा १ अर्ब ६५ करोडको ३ सय २२ वटा दाबी परेको हो ।

गण्डकीमा भने १ अर्ब २९ करोड रुपैयाँबराबरको १८४ वटा दाबी पर्दा मधेश प्रदेशमा ५५ करोड बराबरको २४६ वटा, लुम्बिनी प्रदेशमा ४५ करोड बराबरको २०२ वटा, सुदूरपश्चिम प्रदेशमा २३ करोड बरबारको १५९ वटा र कर्णाली प्रदेशमा ८ करोड ९३ लाख बराबरको २२ वटा बिमा दाबी परेको हो ।

सम्पत्ति बिमापछि मोटर बिमामा धेरै

सम्पत्ति बिमापछि सबैभन्दा धेरै मोटर बिमामा दाबी परेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बिमाअन्तर्गत १८ अर्ब ६१ करोड बराबरको ५३८ वटा दाबी पर्दा मोटर बिमातर्फ २ अर्ब ९५ करोड बराबरको १ हजार ७७८ वटा बिमा दाबी परेको हो ।

योबाहेक इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ३३ करोड, परिवहन बिमामा १ करोड र अन्य बिमामा ३४ करोड बराबरको दाबी परेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १२:२८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।