उत्तरी नाका हुँदै दसैँ र जाडोका लागि नेपाल ल्याइँदै गरेका झन्डै एक हजार कन्टेनर सामान चीनतर्फ नै रोकिएका छन् । नेपाल– चीन सीमाको भूबनोट र प्राकृतिक विपत्तिजन्य अवरोधले चिनियाँ क्षेत्रमै सामानहरू रोकिएका हुन् । खासगरी दसैँ, तिहार र जाडो मौसमका लागि आवश्यक रेडिमेड, इलेक्ट्रोनिक्स र फलफूलजन्य सामग्रीहरू ७५ प्रतिशत चिनियाँ क्षेत्रमै अड्किएको व्यवसायीले बताएका छन् ।
आयात गरिएकामध्ये २० प्रतिशत फलफूल नेपाल भित्रिएका छन् । करिब १० प्रतिशत फलफूल कन्टेनरभित्र कुहिएकाले मिल्काइएको छ । तीन सय चिनियाँ कन्टेनर फलफूल खरिद गरेर ल्याइएकोमा ३० कन्टेनर मात्रै नेपाल भित्रिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्यसमेत रहेका स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए । खासाबाट कम गाडी छाडेकाले फलफूलमा आँप लगभग सबै कुहिएको उनको भनाइ छ ।
दसैँका लागि ल्याइएका कपडा र जुत्ता–चप्पलजन्य रेडिमेड, तिहारमा प्रयोग हुने इलेक्ट्रोनिक्स र जाडो मौसमका लागि खरिद गरिएको ज्याकेट, कम्बल र ब्ल्यांकेट बोकेका एक हजार कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । यसरी सामग्री रोकिनुमा नेपालतर्फ रसुवा र तातोपानी नाकाको भौगोलिक कठिनाइ मुख्य अवरोध हो । त्यसैगरी, नेपालतर्फ समस्या देखाएर चिनियाँ क्षेत्रमा भन्सारले गरेको ढिलाइ सहायक कारण हो । २४ असारदेखि रसुवा नाका बन्द छ ।
यता तातोपानी नाका पनि साउन पहिलो साताबाट पहिरोले करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्वलक्षित सामग्री आयात हुन सकेन । पहिरो पन्छाउँदै पास भएका केही कन्टेनर रेडिमेड सामग्री राजधानी ल्याइएको छ । कोदारी सडक सञ्चालनमा रहे तापनि यसको जीर्ण अवस्थाले सवारीसाधन आवतजावत नियमित छैन । दिनहुँ भइरहेको वर्षाले कोदारीको डाक्लाङमा फेरि पहिरो गएकाले सवारीसाधन आवतजावत रोकिएको तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहले जानकारी दिए । चाडबाडलक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको उनले बताए । ‘खासामा भन्सार, अध्यागमन र स्थानीय सरकारबिच छलफल गरेपछि केही दिनदेखि कन्टेनर संख्या बढाइएको हो,’ उनले भने ।
चिनियाँ सहरबाट नेपालका लागि खरिद गरिएका सामग्री ल्हासा, सिँगात्से, मिम्बु, न्यालम र खासामा जाम भएका छन् । मुसा, राखेमा, आरके, आडो र सिल्क ट्रान्सपोर्ट कम्पनीका गोदाम भरिएकाले राख्ने ठाउँ छैन ।
खासाबाट २० किलोमिटरमाथि न्यालम, सय किलोमिटर टाढा मिम्बु र चार सय ५० किलोमिटर दूरीमा रहेको सिँगात्से सहरका सबै गोदाम भरिभराउ भएका छन् । अक्टोबर एक तारिखबाट लागू हुने गरी चिनियाँ कस्टमले नेपाल निर्यात हुने सामग्रीमा दुई प्रतिशत कर लिन सुरु गरेकाले पनि ट्रान्सपोर्ट कम्पनीहरू सामग्री ढुवानी गर्न द्विविधामा परेका छन् । करको भार कसले व्यहोर्ने भन्ने विषयमा व्यापारी र ट्रान्सपोर्ट कम्पनीबिच समझदारी बनेको छैन ।
चिनियाँ पक्षले मौखिक दुई प्रतिशत र कागजी रूपमा २५ प्रतिशत कर बढाएको भनेर भन्सार डकुमेन्टमा लेखेकाले ट्रान्सपोर्ट कम्पनीहरू अलमलमा परेको आडो ट्रान्सपोर्ट कम्पनीले नयाँ पत्रिकालाई जानकारी दिएको छ । स्राेत : नयाँ पत्रिका बाट ।




















प्रतिक्रिया