Logo

अर्थ

आठ महिनाका लागि खुल्यो जग्गाको कित्ताकाट, अब साँघुरोकाे पनि कित्ताकाट गर्न पाइने



काठमाडौं । करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला भएको छ । सरकारले भू-उपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।

यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो ।

संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ ।

त्यस्तै, अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । यसअघि नियमावलीको नियम १२ को उपनियम २ मा ५०० वर्गमिटर भन्दा कम क्षेत्रफल भएको जग्गा यदि चौडाइभन्दा लम्बाई ४ गुणा बढी छ भने त्यस्तो जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

संशोधित नियमावलीले यो व्यवस्था हटाइदिएको छ । योसँगै साँघुरो किसिमका त्यस्ता जग्गा समेत कित्ता विभाजन गरि बिक्री गर्न पाइने भएको छ ।

देशभरमा ७५३ स्थानीय तह छन् । त्यसमध्ये दुई तिहाइ स्थानीय तहमा कित्ताकाट रोकिँदा कारोबार र राजस्व समेत प्रभावित हुँदै आएको थियो । यो निर्णयले घरजग्गा कारोबारमा केही हदसम्म सुधारको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ११:२२   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।