एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा हानिने प्रत्येक चौकासँग ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। फाउन्डेसनले हरेक चौका बराबर ४ वटा शैक्षिक सामग्री उपलब्ध गराउने जनाएको छ।
गत वर्ष एनपीएलसँगको सहकार्यमा २,६१२ विद्यार्थी लाभान्वित भएका थिए। त्यो समयमा कुल ६५३ चौका हानिएपछि २,६१२ शैक्षिक सामग्री वितरण गरिएको थियो। एनसेलका अनुसार यस पहलमार्फत हालसम्म देशभर ९,००० भन्दा बढी विद्यार्थीलाई सामाग्री वितरण भइसकेको छ। यस वर्ष पनि त्यही अभियानलाई निरन्तरता दिइएको हो।
एनसेल फाउन्डेसनका अनुसार शैक्षिक सामग्रीको प्याकेजमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत अध्ययनमा आवश्यक सामग्री समावेश हुनेछन्। यसले स्रोत अभावमा विद्यालय आउने विद्यार्थीलाई थप सहयोग पुग्ने विश्वास लिइएको छ। क्रिकेट खेलको उत्साहलाई कक्षाकोठासम्म पुर्याउने लक्ष्यसहित फाउन्डेसनले शिक्षामा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले क्रिकेट केवल मनोरञ्जन मात्र नभई सामाजिक परिवर्तनको माध्यम भएको बताइन्। उनले भनिन्, “क्रिकेटले हामीलाई जोड्छ। एनपीएलसँगको साझेदारीले सामुदायिक विद्यालयका विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउँछ। खेलमा प्रहार हुने प्रत्येक चौका उनीहरूको अवसर र सिकाइसँग जोडिएको छ।”
फाउन्डेसनले सामग्री वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय तथा साझेदार संस्थाको सहकार्यमा गरिने जनाएको छ। अभियानले खेलाडीको प्रदर्शनको ऊर्जा र उत्साहलाई विद्यालयसम्म पुर्याई विद्यार्थीको शिक्षामा सुधार ल्याउने लक्ष्य राखेको छ।




















प्रतिक्रिया