Logo

प्रमुख समाचार

गुल्मीमा आधारभूत अस्पताल सञ्चालनमा सकस



तम्घास । गुल्मीमा आधारभूत अस्पताल सञ्चालनका लागि केन्द्र र प्रदेशकै मुख ताक्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन् ।

गुल्मीदरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शय्याको अस्पताल निर्माण कार्य सम्पन्न गरी केही महिना पहिलेदेखि सञ्चालनमा ल्याएको छ । उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणगरि हस्तान्तरण गरेको हो ।

गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोज थापाका अनुसार यहि अवस्थामा अस्पताल सञ्चालनका लागि समस्या हुने बताउनुभयो । सबै व्यवस्थापन पालिकाबाट गर्ने भनिएकाले पालिकाको स्रोत साधनले सम्भव नहुने उहाँको भनाइ छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तीपुरमा पनि अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माका अनुसार लुम्बिनी प्रदेश सरकारबाट एक जना मेडिकल अधिकृत र पालिकाबाट एक जना मेडिकल अधिकृतका साथै अन्य स्वास्थ्यचौकीबाट आन्तरिक कर्मचारी व्यवस्थापन गरेर अस्पताल सञ्चालमा ल्याइएको हो ।

अस्पताल सञ्चालनका लागि पालिकाको स्रोत र साधनले सम्भव नहुने भएकाले प्रदेश र केन्द्रको नै मुख ताक्नुवाहेकको विकल्प नभएको शर्माले बताउनुभयो ।

आधारभूत अस्पतालमा तीन जना एमबीबीएस डाक्टरसहित ३२ जनाको दरबन्दी रहेकाले पालिकाले सबै ब्यबस्थापन गरेर सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ ।

उक्त अस्पताल कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३९६ स्थानीय तहमा २०७७ साल मङ्सिर १५ गते एकै साथ शिलान्यास गरिएको थियो । जिल्लाको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोखरेलका अनुसार पहिले शिलान्यास भएको जग्गामा मापदण्ड नपुगेका कारण समस्या भएकाले पछि जग्गाको ब्यवस्थापन गरी बोलपत्रको तयारी भएको छ ।

विभिन्न समस्याहरुलाई पार गर्दै अव बोलपत्रको तयारीमा पुगेको उहाँको भनाइ छ । मालिका गाउँपालिकामा केही महिना पहिलेदेखि निर्माणको कार्य अगाडि बढेको छ भने अन्य स्थानीय तहमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ०७:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।