Logo

अर्थ

प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ



काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार उनलाई हिजो बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरिएको हो ।

ठाकुरप्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा छानबिन चलिरहँदा उनी समातिएका हुन् ।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शङ्कास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ ।

प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो । महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए ।

महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।