Logo

अर्थ

प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट प्रक्रिया सुरु, पूँजीकोष बढाउन १ वर्षको समय



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंक (D-SIBs)को पहिचानका लागि औपचारिक रूपमा छनोट प्रक्रिया सुरु गरेको छ । सोमबार लागू गरिएको ‘फ्रेमवर्क २०२५’ अनुसार केन्द्रीय बैंकले प्रणालीगत जोखिम व्यवस्थापन र बैंकिङ क्षेत्रको स्थायित्व सुदृढ गर्न नयाँ मापदण्ड सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलकाअनुसार २००८को विश्व वित्तीय संकटबाट सिकिएका पाठ तथा बासेल कमिटी अन बैंकिङ सुपरभिजनका अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्रेमवर्क तयार गरिएको छ । ‘कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने लक्ष्यका साथ प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित छ,’ पौडेलले बताए ।

छनोटका प्रमुख आधारहरू
फ्रेमवर्कअनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान सूचक–आधारित विधिबाट गरिने छ । सूचकका भार निम्नानुसार रहने छन्:

आकार (Size): ४० प्रतिशत
इन्टरकनेक्टेडनेस (Interconnectedness): ३० प्रतिशत
स्थायित्व (Substitutability/कर्मकुशलता): १५ प्रतिशत
कम्प्लेक्सिटी (Complexity): १५ प्रतिशत

यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्ति तथा दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि र अन्तर्राष्ट्रिय कारोबारबारे स्पष्ट चित्र दिने बताइएको छ ।

अतिरिक्त पूँजीको व्यवस्था
प्राप्त प्रणालीगत स्कोरका आधारमा राष्ट्र बैंकले ०.२० देखि १ प्रतिशत सम्मको ‘हाइअर लस एब्जरबेन्सी (HLA)’ पूँजी थप गर्न निर्देशन दिन सक्नेछ । यो अतिरिक्त पूँजी २०८३ पुसदेखि लागू हुनेछ । बैंकहरूले आवश्यक पूँजी व्यवस्थापन गर्न एक वर्षको संक्रमण अवधि पाउनेछन् ।

नियामकीय विशेषाधिकारसमेत प्रयोग गर्न सकिने
फ्रेमवर्कले आवश्यकता अनुसार राष्ट्र बैंकले अतिरिक्त नियामकीय विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था पनि राखेको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीले आन्तरिक नियमन प्रणालीलाई अन्तर्राष्ट्रिय असल अभ्याससँग नजिक ल्याउने र संक्रमणकालीन जोखिम नियन्त्रणमा सहयोग गर्नेछ ।

पौडेलका अनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोटको मुख्य उद्देश्य वित्तीय प्रणालीको समग्र स्थायित्व सुनिश्चित गर्नु नै हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १२:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।