काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ । धादिङ–गोरखा क्षेत्रमा बन्ने १,२०० मेगावाट क्षमताको आयोजनाको आधारभूत लागत करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ र निर्माण अवधिसहित कुल लागत ४ खर्ब ६ अर्ब रहनेछ । कर्जा–स्वपूँजी अनुपात ७०/३० कायम गर्ने गरी मोडालिटी बनाइएको हो ।
प्रवर्द्धक कम्पनी बूढीगण्डकी कम्पनी लिमिटेडमा सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत स्वामित्व रहनेछ । केही प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न सकिने प्रस्ताव छ । सरकारको कुल लगानी करिब २ खर्ब ४८ अर्ब रहने अनुमान छ, जसमा ४५ अर्बलाई शेयरमा रूपान्तरण गर्ने तयारी छ ।
आयोजनाबाट वर्षमा ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुनेछ र वार्षिक ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।
हालसम्म ९० प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ भने ४२ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ । लगभग ८,११७ परिवार प्रभावित हुने र ३,५६० परिवार पूर्णरूपमा विस्थापित हुनेछन् । ८ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।




















प्रतिक्रिया