चीनको प्रमुख अटो निर्माता चांगान अटोमोबाइलले बेइजिंग हुन्डाईको चोंगकिंगस्थित प्लान्ट अधिग्रहण गरेको छ। द इकोनोमिक अब्जर्भरले प्लान्ट स्वामित्व परिवर्तनबारे रिपोर्ट सार्वजनिक गरेसँगै चांगानको दिपल ब्रान्डले यसलाई औपचारिक रूपमा पुष्टि गरेको हो।
नयाँ प्लान्ट प्रयोगमा आएपछि दिपलका मोडेलहरूको उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। चोंगकिंगस्थित यो प्लान्ट पहिले बेइजिंग हुन्डाईका पाँच महत्वपूर्ण उत्पादन केन्द्रहरूमध्ये एक थियो।
सन् २०१५ मा निर्माण कार्य सुरु भई २०१७ अगस्टदेखि सञ्चालनमा आएको यो कारखाना १८.७ लाख वर्ग मिटर क्षेत्रमा फैलिएको छ। यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको र वार्षिक उत्पादन क्षमता ३ लाख युनिट रहेको कम्पनीले जनाएको छ।
तर २०२१ डिसेम्बरदेखि यो प्लान्ट बन्द अवस्थामा थियो। उत्पादन क्षमताको अधिकतम सीमासम्म पुगेको चांगानका लागि नयाँ प्लान्ट अधिग्रहण रणनीतिक रूपमा महत्त्वपूर्ण कदम मानिएको छ।
हाल दिपलका इलेक्ट्रिक सवारीसाधनहरू नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएका छन्। नयाँ कारखाना थपिएसँगै दिपलको उत्पादन क्षमता तथा बजार उपस्थिति दुवै बलियो हुने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया