काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।
एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे ।
यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए ।
बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।




















प्रतिक्रिया