Logo

अर्थ

नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी



काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मनाङ्स्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ ।

आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। आयोजनाले वार्षिक दुई अर्ब १० करोड रूपैयाँको विद्युत बिक्री गर्नेछ ।

६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन्। आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ ।

आयोजनाको बाँधका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रूपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रूपैयाँ र स्वपुँजी ३ अर्ब २१ करोड रूपैयाँ लगानी हुनेछ। स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १४:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।