Logo

अर्थ

कोटेश्वरमा फ्लाइओभर र अन्डरपास बनाउन जापानले साढे ३१ अर्ब ऋण दिने



काठमाडौं । कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले नेपाललाई करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । नेपाल सरकार र जापानबीच बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा ऋण सम्झौता सम्पन्न भएको हो । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा सो सम्झौता भएको हो ।

सम्झौताअनुसार जापानले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन ऋण उपलब्ध गराउनेछ। उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग भएर चल्ने सवारी आवागमनलाई सहज बनाउँदै ट्राफिक चाप न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।

ऋण सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानका राजदूत मायदा तोरुले हस्ताक्षर गरे। ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।

समारोहमा अर्थमन्त्री खनाल, जापानी राजदूत तोरु र जाइका नेपाल प्रमुख माजुकीले सम्बोधन गर्दै नेपाल–जापान सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे। जापानी राजदूतले सहुलियतपूर्ण ऋणमार्फत निर्माण हुने कोटेश्वर चोक सुधार आयोजनाले उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य परिवर्तन ल्याउने विश्वास प्रकट गरे।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १४:३२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।