Logo

खेलकुद

नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा तिमिल्सिना निर्वाचित



 

पोखरा । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् ।

पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षहरूमा मिठाराम अधिकारी, हिमालकुमार र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा पोखराका केशव पाठक निर्विरोध निर्वाचित भए ।

यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत भए ।
रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए ।

आगामी नेतृत्वका लागि पोखराका चित्रबहादुर थापाको समेत उम्मेदवारी परेको थियो ।

कास्की जिल्ला अध्यक्षसमेत रहेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मतको वातावरण बनेको हो ।

मानदेव हजाराले उपाध्यक्षबाट, प्रवीणकुमार थोकर तामाङले महासचिवबाट तथा सचिवमा उम्मेदवारी दिएका गीता थापा र पेमा गिर्मी मोक्तानले पनि फिर्ता लिएका हुन् ।

संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार ०८:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।