काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक हर्षल पाठकले नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको बताएका छन् । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक पाठक र पत्रकारबीच परिचयात्मक कार्यक्रम राखेको थियो
आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा चुनौती पेस गर्ने बताएका हुन् ।
“नेपाल छनोट हुने सम्भावना उच्च छ । मैले नेपाली महिला क्रिकेट टिमले विगतका वर्षभन्दा अहिले धेरै सुधार ल्याएको पाएको छु । खेलाडीहरूमा क्रिकेटसँग धेरै मोह छ । नेपालमा समर्थकको संख्या धेरै छ । नेपाल क्रिकेट संघले पनि खेलअनुकूल वातावरण बनाएको छ । त्यसैले म धेरै आशावादी र सकारात्मक छु । म प्रशिक्षकका रूपमा नेपाल शतप्रतिशत छनोट हुने विश्वास व्यक्त गर्छु । हामी छनोटमा विजेता बन्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने छौँ,” पाठकले भने ।
योसँगै पाठक नेपाली महिला क्रिकेटको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । उनी यसअघि थाइल्यान्डको राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए ।
क्यानका अनुसार पाठकलाई दुई वर्षका निम्ति मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उनले राष्ट्रिय महिला क्रिकेट टिमका उमेर समूह जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल ग्लोबल क्वालिफायरको आयोजक हो । नेपालले थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । क्वालिफायरसका सम्पूर्ण खेल पुस २८ देखि माघ १८ सम्म काठमाडौंको मूलपानीस्थित माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता रहनेछ । क्वालिफायर्सको समूह ‘ए’मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेका छन् । त्यसैगरी, समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, नामिबिया, पपुवा न्यू गिनी र नेदरल्यान्ड्स छन् ।




















प्रतिक्रिया