काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धरौटी जमानत लिएर छाडेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ ।




















प्रतिक्रिया