काठमाडौँ – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी भएका उनीहरुले पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिधि वंशलाल तामाङले पार्टीको नयाँ नेतृत्व चयन गरेर जानुपर्ने आफूहरुको निष्कर्ष रहेको बताए।
उनले निर्वाचनमा जानका लागि पनि युवाहरुलाई नेतृत्वमा ल्याउने गरी आफूहरुले विशेष महाधिवेशन आयोजना गरेकोसमेत बताए।
तामाङले भने, ‘पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुन्छ। हामी निर्वाचनलाई केन्द्रित गरेर नै नीति र नेतृत्व चयन गर्न विशेष महाधिवेशनमा सहभागी भएका हौँ।’
उनीहरुले विशेष महाधिवेशन विधानसम्मत भएको जिकिर गर्दै त्यसले नयाँ नेतृत्व चयन गरेर कांग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन्।
बाराका महाधिवेशन प्रतिनिधि विष्णु खड्काले नीति र नेतृत्व दुवै परिवर्तन गरेर आफूहरु अघि बढ्ने निष्कर्षमा पुगेको बताए।
उनले भने, ‘जसको नीति उसकै नेतृत्व भन्ने सुझाव दिएका छौँ। त्यो पास हुन्छ। अहिले समूहगत छलफल हुँदै छ। बन्दसत्रमा आएका सुझावको आधारमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित हुन्छ।
नियमित महाधिवेशन हुन नसक्ने भएपछि विशेष महाधिवेशन गरिएको हो। यो पार्टीको विधानअनुसार हुन्छ।’
महोत्तरीका सीताराम भण्डारीले पार्टी नेतृत्वलाई तत्काल राजीनामा दिएर नयाँ नेतृत्वको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
उनले पार्टी सभापति शेरबहादुर देउवालगायतका पार्टी नेतृत्वलाई पदमा बस्ने नैतिक तथा कानुनी दुवै अधिकार नरहेको जिकिरसमेत गरे।
भण्डारीले भने, ‘यो अधिवेशन परिणाममुखि हो। म जिस्टमा के भन्छु भने– यो अधिवेशन नेपाली आमाको मुख फेर्ने र कांग्रेसलाई जीवन्त बनाउने अधिवेशन हो।
अहिलेको नेतृत्व पंक्तिलाई स्थापित गरेको हुनाले उनीहरुलाई अब नेतृत्वमा बस्ने कानूनी र नैतिक अधिकार छैन। पदबाट राजीनामा दिएर त्यो काम गर्नु पर्दछ।’
बाजुराका महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले पनि पार्टीलाई नयाँ नेतृत्व चयन गरेर अघि बढाउन आफूहरु लागिपरेको बताए।




















प्रतिक्रिया