काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसलाई विभाजन नभई एकताको यात्रा तय गर्न आग्रह गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसभित्रको विवादले पार्टी फुट्न नहुनेमा जोड दिएका हुन् ।
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी गम्भीर आन्तरिक संक्रमणबाट गुज्रिरहेको भन्दै युनियनले चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट विचलित भएर कांग्रेसको विभाजन हुनु लोकतन्त्रका लागि सुखद् अनुभूति हुनेछैन ।’
लोकतन्त्रमा राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास उति नै समृद्ध बन्ने युनियनको ठहर छ ।
दलहरूको विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित नगर्ने भन्दै युनियनले कांग्रेसका सबै जिम्मेवार नेताहरूलाई लोकतन्त्र र मुलुकको भविष्य केन्द्रमा राखेर निर्णय लिन सुझाव दिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितका लागि लोकतान्त्रिक शासन व्यवस्था जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष लम्सालले बहुदलीय लोकतन्त्रले नै सञ्चार क्षेत्रको सरोकार बुझ्ने बताए ।उनले देशभरका युनियनमा आबद्ध पत्रकारहरूलाई पनि विचलित नभई पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न निर्देशन दिएका छन् ।





















प्रतिक्रिया