Logo

प्रमुख समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगकाअनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन् । तीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन् । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार ११:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।