Logo

राजनीति

जनताबाट पराजित नेता राष्ट्रिय सभा निर्वाचित



सुर्खेत । आइतबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदानबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचित भएका छन् । कर्णालीबाट दुई पदका लागि भएको निर्वाचनमा शाही ‘अन्य’ कलस्टरबाट निर्वाचित भएका हुन् ।

उनले प्रदेशसभातर्फबाट २५ र स्थानीयतर्फ १०० मत पाएका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

उनले अन्य कलस्टरमा प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बा बुद्धिप्रसाद शर्मालाई पराजित गरे । शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरेका थिए ।

स्मरण रहोस् राष्ट्रिय सभामा निर्वाचित शाही २०७९ को प्रदेश सभा चुनावमा जनताबाट पराजित नेता हुन् । त्यो पनि गठबन्धन हुँदाहुँदै । ०७९ को प्रदेश सभा चुनावमा कांग्रेस–माओवादी र एकीकृत समाजवादीबिच गठबन्धन थियो ।

शाही जुम्ला (१)बा गठबन्धनका साझा उम्मेदवार थिए । तर आफूले टिकट नपाएको भन्दै कांग्रेसकै नेता देवेन्द्रबहादुर शाही ललितजंगविरुद्ध बागी लडे ।

पानीको धारा चुनाव चिन्ह लिएर चुनावमा गएका देवेन्दले गठबन्धनका साझा उम्मेदवार ललितजंगलाई १ हजार ८९९ मतान्तरले हराइदिए । बागी लडेका शाहीले ९ हजार ६५४ मत पाए भने कांग्रेसबाट लडेका शाहीले ७ हजार ७५५ मत मात्रै पाए ।

त्यसपछि पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएको भन्दै उनै शाहीको जोडबलमा प्रदेश सभा निर्वाचित शाहीलाई कांग्रेसले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्‍यो, किनकि ललितजंग कारबाही गर्ने ठाउँ कर्णाली प्रदेश कमिटीका सभापति थिए ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १८:१८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।