काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले काठमाडौँका कथा मधेस लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउनका लागि आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताएका हुन् ।
भिडियो सन्देशमा थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने तर अधिकारविहीन अवस्थामा एकता पनि सम्भव नहुने धारणा राखे । आफ्नो राजनीतिक यात्राको सुरुवाती दिन सम्झँदै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गरे । पहिलो संविधानसभामा समानुपातिक उम्मेदवार हुँदादेखि २०७०, २०७४ र २०७९ को प्रत्यक्ष निर्वाचनमा प्राप्त लगातारको जितलाई उनले मतदाताको अगाध मायाका रूपमा व्याख्या गरे ।
नाकाबन्दी, भूकम्प र कोरोना महामारीजस्ता कठिन समयमा समुदायसँग मिलेर काम गरेको तथा सांसद र मन्त्रीका रूपमा भूमिका खेल्दा मतदाताले गरेको विश्वासप्रति उनले आभार प्रकट गरे । पार्टी सभापति भइसकेपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि आफूले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेरै भए पनि देश जोड्नका लागि सर्लाही रोजेको उनले प्रस्ट पारे ।
आफू सर्लाही गए पनि काठमाडौँ-४ लाई मनमुटुमा लिएर हिँड्ने र यहाँका जात्रा, पर्व, संस्कृति तथा विकास निर्माणमा सधैँ जोडिइरहने प्रतिबद्धता उनले जनाए । काठमाडौँ क्षेत्र नम्बर ४ मा पार्टीका तर्फबाट युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनले आफ्नो अनुभव र तिमल्सिनाको नयाँ जोश मिसाएर क्षेत्रको विकास गर्ने बताए ।
भिडियो सन्देश:





















प्रतिक्रिया