काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नै विस्तार रणनीतिबाट सिर्जित चुनौतीको सामना गर्दै आएको छ। एक समय बजारमा आक्रामक उपस्थितिका कारण पहिचान बनाएको बैंक पछिल्ला अवधिमा लागत व्यवस्थापन, कर्जाको गुणस्तर र सञ्चालन दक्षताका सवालमा दबाबमा परेको देखिन्थ्यो। यही अवस्थामा नेतृत्व तहमा आएको परिवर्तनलाई लिएर बैंकको भावी दिशा कता मोडिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।
तर, प्रमुख कार्यकारी अधिकृत (सीइओ )का रूपमा सुजितकुमार शाक्यको आगमनपछि भने बैंकको प्राथमिकतामा क्रमशः फेरबदल देखिन थालेको छ। विस्तारको गति भन्दा व्यवस्थापनको गुणस्तर, वित्तीय अनुशासन र जोखिम नियन्त्रणलाई अगाडि सार्ने संकेतहरू पछिल्ला निर्णय र घोषणाबाट देखिन्छन्। बैंकले अब आक्रामक वृद्धिको सट्टा स्थायित्व र सन्तुलन खोज्न थालेको बुझाइ दिन थालेको छ।
व्यवसायिक मोडेलमा पुनर्विचार गर्नु बैंकका पछिल्ला कदममध्ये एक हो। एसएमई र रिटेल बैंकिङमा केन्द्रित पोर्टफोलियोलाई विस्तार गर्दै कर्पोरेट बैंकिङतर्फ प्रवेश गर्ने योजना, साथै गोल्ड लोनजस्ता उत्पादनलाई संस्थागत रूपमा अघि बढाउने तयारीले बैंकले बजार अवसरलाई पुनःपरिभाषित गर्न खोजेको देखिन्छ। यसले जोखिम र प्रतिफलबीच सन्तुलन कायम गर्ने प्रयासलाई संकेत गर्छ।
पूँजी आवश्यकताको व्यवस्थापनका लागि अग्राधिकार सेयर र पर्पेचुअल प्रिफरेन्स सेयर जारी गर्ने तयारी पनि सोही रणनीतिक सोचसँग जोडिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पूँजी वृद्धिमा सहजीकरण गरेपछि बैंकहरूले यस्तो विकल्प प्रयोग गर्न थालेका छन्। तर पूँजी वृद्धि आफैंमा समाधान होइन, त्यसको प्रयोग कसरी र कुन उद्देश्यका लागि गरिन्छ भन्ने कुराले नै संस्थाको दीर्घकालीन स्वास्थ्य निर्धारण गर्छ।
कर्जा असुली र ग्राहक सम्बन्धको अभ्यासमा देखिएको परिमार्जन पनि उल्लेखनीय छ। विगतका कठोर असुली अभ्यासबाट बाहिरिँदै संवाद र विश्वासमा आधारित बैंकिङतर्फ उन्मुख हुने प्रयास सकारात्मक मान्न सकिन्छ। यससँगै शाखा मर्जर, खर्च कटौती र डिजिटल बैंकिङ विस्तारका योजनाले बैंकले संरचनागत सुधारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ।
तर बैंकिङ क्षेत्रमा सुधार न त छिटो देखिन्छ, न त घोषणाले नै सुनिश्चित हुन्छ। नेतृत्व परिवर्तनपछि देखिने प्रारम्भिक संकेतहरू उत्साहजनक देखिए पनि त्यसको मूल्याङ्कन आगामी वित्तीय विवरण, कर्जा गुणस्तर र जोखिम व्यवस्थापनका सूचकांकबाट मात्र सम्भव हुन्छ। पाँच वर्षे रणनीतिक योजनाको कार्यान्वयन, व्यवस्थापनको निरन्तरता र नियामक अनुशासनप्रतिको प्रतिबद्धताले नै एनआईसी एशिया बैंक पुनः भरोसायोग्य संस्थाका रूपमा उभिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर दिनेछ।
नयाँ नेतृत्वले पारदर्शिता, दिगोपन र जिम्मेवारीलाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। अब चुनौती भनेको ती प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो। बैंकिङ क्षेत्रमा विश्वास भाषणबाट होइन, अभ्यासबाट निर्माण हुन्छ। एनआईसी एशिया बैंकका पछिल्ला कदमहरूले सुधारको प्रयास देखाए पनि त्यसको निष्कर्ष समय र परिणामले नै तय गर्नेछन्।




















प्रतिक्रिया