Logo

प्रमुख समाचार

मतदाताले अध्यक्ष ओलीलाई भने-‘विध्वंस गर्नेहरूलाई कारबाही होस्’



झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै गाउँ कमल गाउँपालिका–५ पुगेपछि स्थानीय मतदाताहरू उत्साहित देखिएका छन्। फूलमाला र मुस्कानसहित स्वागत गरिरहेका स्थानीयबीच दुर्गा अधिकारीको भावुक अभिव्यक्तिले सबैको ध्यान खिच्यो।

अध्यक्ष ओलीलाई नजिकै देखेपछि भावविह्वल बनेकी अधिकारीले भ्युटावर, सिंहदरबार तथा सरकारी कार्यालयहरूमा भएको आगजनीप्रति पीडा व्यक्त गर्दै भनिन्, “ती संरचना जल्दा मेरो हृदयबाटै धुवाँ उठेजस्तो भयो। तिनको के दोष थियो र जलाइयो ? अब विध्वंस गर्नेहरूलाई त्यसै छाड्ने हो ?”

उनको कुरा सुनेपछि केही बेर मौन रहेका अध्यक्ष ओलीले भने, “सबै कुरा समय आएपछि ठीक हुन्छ, चिन्ता नगर्नुहोस्।”

स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयले पनि देशका सम्पदा र सार्वजनिक संरचना जलाउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखे। स्थानीय राम धिमालले रतुवा नदीको तटबन्धन, गाउँगाउँमा कालोपत्रे सडक, विद्युत् तथा खानेपानी घरघरमा पुर्‍याउने नेतृत्वलाई जनताले कहिल्यै नबिर्सने बताए। विकास गर्ने र भविष्यमा पनि विकास गर्न सक्ने नेतालाई नै यहाँका बासिन्दाले रोज्ने उनको भनाइ थियो।

अध्यक्ष ओली आइतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेका छन्। शनिबार पनि उनले यही गाउँपालिकाका विभिन्न स्थानमा स्थानीयसँग भलाकुसारी गरेका थिए।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १३:३०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।