पाँचथर ।२०७० को संविधानसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग चुनाव हारेका कांग्रेसका भेषराज आचार्य यसपटक सुवासकै छोरा सुहाङ नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन्।
दोस्रो संविधानसभा निर्वाचनमा आचार्य नेम्वाङसँग २ हजार १ सय १२ मतले पराजित भएका थिए । त्योबेला एमालेका सुवासचन्द्र नेम्वाङले १४ हजार ९ सय ३० मत प्राप्त गर्दा कांग्रेसका आचार्यले १२ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
सुवासचन्द्र नेम्वाङसँग १२ वर्षअघि प्रतिस्पर्धा गरेका आचार्य र सुहाङ बीच यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुबीचको प्रतिस्पर्धा बारे इलामका चोकदेखि चौतारा हुँदै चिया गफसम्म चर्चा भइरहेको छ ।
माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै आचार्य र नेम्वाङसहित १४ जना उम्मेदवार इलाम–२ मा घरदैलो गरिरहेका छन् ।
उम्मेदवारहरु मतदाता भेट्न व्यस्त छन् भने मतदाता उम्मेदवारका बाचा सुन्दै उनीहरुका एजेण्डाको लेखाजोखा गरिरहेका छन् । यद्यपि अधिकांश दलले प्रतिबद्वता, एजेण्डा र घोषणा पत्र सार्वजनिक गरेका छैनन्।
इलाम–२ मा निरन्तर चुनाव जितेका संविधानसभा अध्यक्ष नेम्वाङको निधन भएपछि २०८१ वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा उनकै छोरा सुहाङ यहाँबाट निर्वाचित भएका थिए ।
त्योबेला उनलाई तत्कालीन माओवादीसहितका कम्युनिष्ट पार्टीहरुले समर्थन गरेका थिए । त्योबेला सुहाङसँग प्रतिस्पर्धामा कांग्रेसका डम्बर खड्का थिए । सुहाङको दोस्रो पटकको चुनावी दौडमा १२ वर्षअघि आफ्नै बुवासँग चुनाव लडेका आचार्यसँग प्रतिष्पर्धा भइरहेको छ।





















प्रतिक्रिया