Logo

राजनीति

इलाम-२ मा १२ वर्षअघि सुवाससँग लडेका आचार्य सुहाङका प्रतिस्पर्धी



पाँचथर ।२०७० को संविधानसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग चुनाव हारेका कांग्रेसका भेषराज आचार्य यसपटक सुवासकै छोरा सुहाङ नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन्।

दोस्रो संविधानसभा निर्वाचनमा आचार्य नेम्वाङसँग २ हजार १ सय १२ मतले पराजित भएका थिए । त्योबेला एमालेका सुवासचन्द्र नेम्वाङले १४ हजार ९ सय ३० मत प्राप्त गर्दा कांग्रेसका आचार्यले १२ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।

सुवासचन्द्र नेम्वाङसँग १२ वर्षअघि प्रतिस्पर्धा गरेका आचार्य र सुहाङ बीच यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुबीचको प्रतिस्पर्धा बारे इलामका चोकदेखि चौतारा हुँदै चिया गफसम्म चर्चा भइरहेको छ ।

माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै आचार्य र नेम्वाङसहित १४ जना उम्मेदवार इलाम–२ मा घरदैलो गरिरहेका छन् ।

उम्मेदवारहरु मतदाता भेट्न व्यस्त छन् भने मतदाता उम्मेदवारका बाचा सुन्दै उनीहरुका एजेण्डाको लेखाजोखा गरिरहेका छन् । यद्यपि अधिकांश दलले प्रतिबद्वता, एजेण्डा र घोषणा पत्र सार्वजनिक गरेका छैनन्।

इलाम–२ मा निरन्तर चुनाव जितेका संविधानसभा अध्यक्ष नेम्वाङको निधन भएपछि २०८१ वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा उनकै छोरा सुहाङ यहाँबाट निर्वाचित भएका थिए ।

त्योबेला उनलाई तत्कालीन माओवादीसहितका कम्युनिष्ट पार्टीहरुले समर्थन गरेका थिए । त्योबेला सुहाङसँग प्रतिस्पर्धामा कांग्रेसका डम्बर खड्का थिए । सुहाङको दोस्रो पटकको चुनावी दौडमा १२ वर्षअघि आफ्नै बुवासँग चुनाव लडेका आचार्यसँग प्रतिष्पर्धा भइरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १८:३३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।