वीरगन्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाले आगामी ५ वर्षभित्र वीरगन्जमा १ खर्ब रुपैयाँ लगानी भित्र्याउने महत्त्वाकांक्षी प्रतिबद्धतासहित आफ्नो ‘दश सुत्रीय प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका रुङ्गटाले वीरगन्जको बेरोजगारी समस्या समाधान र आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत गरेका हुन् ।
बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले आफू पद र पैसाका लागि नभई वीरगन्जको विकास, सुशासन र पद्धतिका लागि चुनावी मैदानमा उत्रिएको दाबी गरे ।
विगतमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै रुङ्गटाले भनेन,‘अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ ।’ उनले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिएका छन् ।
जसअन्तर्गत १०० दिनभित्र पानीको नक्साङ्कन तथा अडिट, बिग्रिएका धारा मर्मत, वर्षाको पानी पुनर्भरण र सिरसिया नदी संरक्षण कार्यक्रम सुरु गरिनेछ ।
स्वास्थ्यतर्फ नारायणी अस्पतालको स्तरोन्नति, स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, आधुनिक ट्रमा सेन्टर र प्रसूति सेवा सुदृढीकरण गर्ने उहाँको योजना छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको डिजिटल पूर्वाधार विकास र उद्योगसँग जोडिएको ’पोलिटेक्निक इन्स्टिच्युट’ स्थापनालाई उहाँले प्राथमिकतामा राखेका छन् । ‘किताब मात्र होइन, सीप पनि आवश्यक छ,’ उनले जोड दिए ।
आर्थिक विकासका लागि ‘वीरगन्ज आर्थिक स्वतन्त्रता योजना’ अघि सार्दै रुङ्गटाले विशेष वित्तीय क्षेत्रको पहल र १ खर्ब बराबरको औद्योगिक लगानी भित्र्याउने दाबी गरे । यसबाट करिब ४ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने र स्थानीय युवालाई प्राथमिकता दिइने उनको प्रतिज्ञा छ।
युवाहरूका लागि ‘युवा उडान कार्यक्रम’, सहुलियत कर्जा र लागुऔषधविरुद्ध संरक्षण अभियान चलाइनेछ। महिला सुरक्षाका लागि सडक बत्ती विस्तार, मातृ स्वास्थ्य सेवा र महिला उद्यम प्रवद्र्धनका कार्यक्रमहरू प्रतिज्ञा पत्रमा समेटिएका छन्।
रुङ्गटाले आफ्नो अन्तिम प्रतिज्ञाका रूपमा ‘स्वच्छ शासन’ को अवधारणा अघि सारेका छन् । उनले निर्वाचित भएपछि आफ्नो कार्यालयलाई ‘जनता कार्यालय’ का रूपमा सञ्चालन गर्ने र १५ दिनभित्र जनताका उजुरीको जवाफ दिने प्रणाली बसाल्ने घोषणा गरे ।
‘नेपाली कांग्रेस मेरो आधार हो, तर पर्सा–१ मेरो प्राथमिकता हो,’ रुङ्गटाले भने,‘वीरगञ्जले सधैँ देशलाई अघि बढायो, अब वीरगञ्ज आफैँ पनि सम्मानसहित अघि बढ्नुपर्छ ।’




















प्रतिक्रिया