Logo

जुम्लामा अलपत्र परेका दुई जना सम्पर्कमा



तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।

मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताएका छन् । गत कार्तिक २९ गते जाजरकोटबाट हिँडेका  सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ । कार्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताए ।

उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मङ्गलबार सम्पर्कमा आइसकेको  प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिएका छन् । अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ । चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए । भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आएका सिंहले भने, “कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ । ”

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।