काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ ।
यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।




















प्रतिक्रिया