विराटनगर । निर्वाचनमा जनताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्छन् । तर भोजपुरमा एक मतदाताले मतपत्रसँगै आफ्नो भावना र देशप्रतिको चिन्तालाई एउटा चिठीमा कोरेर मतपेटिकामा खसालेको पाइएको छ ।
भोजपुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर २ को मतपेटिकामा उक्त हस्तलिखित पत्र फेला परेको हो । भोजपुरका मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले मतपेटिकामा चिठी फेला परेको कुरालाई पुष्टि गरेका छन् ।
‘मतगणनाका क्रममा एउटा चिठी भेटिएको थियो । त्यो चिठीमा कसैलाई गालीगलौज गरिएको छैन, बरू देश विकास र सुशासनका लागि केही सकारात्मक सुझावहरू लेखिएका छन्,’ उनले भने, ‘यो चिठीले अन्य मतपत्रहरूलाई कुनै असर गरेको छैन, न त यो कुनै कानुनी कारबाहीको विषय नै हो । एउटा मतदाताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गरेको देखिन्छ ।’

पछिल्लो समय राजनीति र नेताहरूप्रति जनतामा बढेको असन्तुष्टि र आशाको मिश्रण यस चिठीमा स्पष्ट देखिन्छ । निर्वाचन अधिकृत दाहालका अनुसार यस्ता पत्रहरूले मतदाताको सचेतता र देशप्रतिको चिन्तालाई झल्काउँछ ।
भोजपुरमा मतगणना जारी छ । यो समाचार तयार पार्दासम्मका मतगणना अनुसार श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ८ हजार ७९८, नेकपा एमालेका शेरधन राईले ७ हजार ३८३ र नेपाली कांग्रेसका बालकृष्ण थापाले ४ हजार ७६३ मत पाएका छन् ।
भोजपुरमा रास्वपाका रमेशप्रसाद ओझाले ३ हजार ८९३ र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ३ हजार ३५७ मत ल्याएका छन् ।यो समाचार रातोपार्टीमा छ।





















प्रतिक्रिया