मकवानपुरगढी । दाङमा जन्मिएर मकवानपुरमा घर भई नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएकी पवित्रा विश्वकर्मा नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।
ब्राह्मण क्षेत्रीको बाहुल्य रहेको गाउँमा जन्मिनुभएकी उहाँले दलित समुदायलाई विभेदपूर्ण सोचले हेरेको महसुस गर्दै हुर्किनुभएको छ ।
आर्थिक हिसाबले सम्पन्न भए पनि विभेदकारी सामाजको व्यवहारले उहाँको मनमा उकुसमुकुस भए पनि त्यसको विरोध गर्न सक्नुभएको थिएन ।
पँधेरोमा पानी लिन जाँदा, ‘धारा नछोऊ, तिमीले छोएको पानी हामीले खान मिल्दैन’ भन्ने शब्दले उहाँको मनमा तीर जस्तै प्रहार भए पनि त्यसको विरोध गर्न सक्नुभएको थिएन । त्यसलाई सामान्य रूपले पचाएर हिँड्दै आएको सुनाउनुहुन्छ ।
विद्यालयमा कक्षा ५ मा पढ्दै गर्दा सामूहिक रूपमा वनभोज खान जाँदा काम सघाउन नपाएको नमिठो अनुभव उहाँसँग छ । खाने बेला भएपछि शिक्षकले पवित्रा र अर्काे दलित साथीलाई अरू साथीदेखि पर राखेर छुट्टै बिछ्याउना लगाइदिने गरेका थिए ।
त्यतिबेला आफूमाथिको व्यवहार राम्रोसँग अनुभव गरिसक्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “शिक्षकको त्यस व्यवहारले आफूलाई भोजभतेरसमेत नरुचेको र मानसिक रूपमा विक्षिप्त बनाएको थियो ।”
१४ वर्षको उमेरमा धनकुटाका वीरबहादुर विश्वकर्मासँग विवाह गर्नुभएकी अहिले हेटौँडा–२ मा बस्दै आउनुभएको छ । तीन सन्तानकी आमा पवित्राका छोरा हुर्किएपछि श्रीमान्ले घरको काम सघाएर सामाजिक कार्यमा लाग्न सहयोग गर्नुभयो ।
२०५८ देखि दलित महिला सङ्घ (फेडो) मा आबद्ध भएर काम गर्नुभएको अनुभव उहाँसँग छ । दलित समुदायको उत्थानका लागि आफूले कदम चाल्दै आएको बताउनुहुन्छ ।
पवित्रा मकवानपुरका दलित बस्तीमा गएर त्यहाँका महिलासँग भेट्दै आफ्नो हक अधिकारका लागि लड्नु पर्छ भन्ने सन्देश दिएको बताउनुहुन्छ ।
बचत गर्ने बानीको विकास गर्दै आर्थिक सिप सिकेर जीविकोपार्जनमा लाग्नका लागि महिलालाई जागरुक बनाउने काम गर्नुभएको थियो । कैयौँ कार्यव्रmममा आफूलाई बोल्न नदिने र आसनग्रहणसमेत नगराउने जस्ता कार्य आफूले भोगेको उहाँले आफ्नो पीडा सुनाउनुभयो ।
आफ्नै खर्चमा गाउँ गाउँ पुगेर विभेदविरुद्ध आवाज उठाउनु पर्छ भन्ने काम गरेको बताउँदै उहाँले जातीय विभेदविरुद्धको आवाज उठाउँदै आएभएपछि पवित्रा विश्वकर्मा (विक) लाई कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको छ ।
दलित क्लस्टरबाट उहाँ सांसद चुनिनुभएको हो । कैयौँ वर्षको सङ्घर्षले संसद्सम्म पु¥याउँदा श्रीमान् वीरलाई धेरै सम्झिएको उहाँ बताउनुहुन्छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा समानुपातिकतर्फबाट प्रनितिधि सभा सदस्य बन्ने अवसर उहाँले मात्र प्राप्त गर्नुभयो ।
२०६१ सालपछि कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी वहन गरिसक्नुभएको छ । नेपाल दलित सङ्घको केन्द्रीय सदस्य भएर काम गर्नुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनको महासमिति सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । पवित्रा यसअघि २०७४ को निर्वाचनमा पनि समानुपातिकतर्फको उम्मेदवार बन्नुभएको थियो ।
त्यतिबेला आफ्नो नाम पाँचौँ नम्बरमा रहेको र प्रतिनिधि सभाको सदस्य बन्ने अवसर नपाएको उहाँले बताउनुभयो । २०६१ पछि कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसक्नुभएकी पवित्रा विश्वकर्मा दलित सङ्घको केन्द्रीय सदस्यसमेत बनिसक्नुभएको छ ।
दुई दशकदेखि ८ कक्षामै रोकिएको पढाइलाई उहाँले श्रीमान्को आग्रहमा निरन्तरतापछि समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
दलित महिला सङ्घ (फेडो) मकवानपुरको तीन पटक अध्यक्षको जिम्मेवारी समाल्नुभएको छ । करिब २४ वर्ष निरन्तर दलित समुदायको आवाज बन्नुभएकी पवित्रा अब संसद्मा जातीय विभेदविरुद्ध आवाज उठाउने, दलित समुदायको उत्थानका लागि कानुन निर्माणमा पहल गर्ने, बालविवाह न्यूनीकरणका लागि पहल गर्ने बताउनुहुन्छ ।


















प्रतिक्रिया