काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको सचिवालयले बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई असंवैधानिक, गैरकानुनी तथा प्रतिशोध र पूर्वाग्रहपूर्ण ढङ्गले गिरफ्तार गरेको निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शङ्कर पोखरेलले चैत २५ गतेसम्म सबै जिल्ला कमिटीको आयोजनामा जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारे प्रशिक्षण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
चैत २८ गते सम्पूर्ण पालिकास्तरमा विरोध प्रदर्शन गर्ने, २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडा भेला र विरोध प्रदर्शन, वैशाख ७ गते प्रदेशस्तरीय र वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हाम्रो तयारी आधारभूत तहदेखि नै आन्दोलनलाई सशक्त ढङ्गले उठाउने कार्यकर्ता परिचालित गर्दै अगाडि गर्दै आन्दोलनलाई सशक्त बनाउने योजनाका साथ अगाडि बढेको कुरा म राख्न चाहन्छु ।
हिजो हामीले सन्देश दिन खोजेका थियौं, अब हाम्रो व्यापक जनताको सहभागीतामा दबाबमूलक आन्दोलनका रूपमा विकसित गर्ने हिसाबले हामी अगाडि बढ्ने छौं ।”


















प्रतिक्रिया