Logo

समाचार

राष्ट्रिय रग्बी सेभेन्स: पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन



काठमाडौ । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप-२०२६ को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लबले जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल भिडन्तमा दुवै विभागीय टोलीले सानदार प्रदर्शन गर्दै च्याम्पियनको ट्रफी उचालेका हुन्।

महिलातर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई २२–१२ को स्कोरले पराजित गर्दै उपाधि आफ्नो नाममा गर्‍यो।

पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनलमा भने एपीएफले आर्मीमाथि १०–५ को रोमाञ्चक जित निकाल्दै बदला लियो र उपाधि हात पार्‍यो।

प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२–७ ले पराजित गर्‍यो। महिलातर्फ भने बागमती प्रदेशले कर्णाली प्रदेशलाई ५–० को झिनो अन्तरले हराउँदै तेस्रो स्थान सुरक्षित गर्‍यो।

व्यक्तिगत विधातर्फ पुरुषमा एपीएफका रोहन ढंगोल र महिलामा आर्मीकी कुमारी श्रेष्ठ ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।

प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म चलेको उक्त च्याम्पियनसिपमा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो।

समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार १९:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।