चितवन — उत्पादनमा कमी र मागमा वृद्धि भएसँगै अण्डाको मूल्य पुनः बढाइएको छ। लेयर्स कुखुरापालक संघले फार्मको मूल्यलाई आधार मानेर आजदेखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेको हो।
संघका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटा) ४६५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४५० रुपैयाँ थियो। यसैगरी मझौला अण्डाको मूल्य प्रतिक्रेट ४१५ रुपैयाँ निर्धारण गरिएको छ, जुन पहिले ४०० रुपैयाँमा कारोबार हुँदै आएको थियो।
यसअघि गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँसम्म बिक्री भएको थियो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग तथा बढ्दो गर्मीका कारण उत्पादन घटेको छ। उता, नयाँ वर्षको अवसरमा बढेको पर्यटकीय गतिविधिले बजारमा माग बढाएको छ। सीमाक्षेत्रमा कडाइ गरिएकाले बाहिरी आपूर्ति पनि घटेको उनले बताए।
उत्पादन घट्नु र माग बढ्नुका कारण मूल्य वृद्धि भएको भए पनि हालको मूल्य अझै किसानको लागतभन्दा कम रहेको संघको भनाइ छ। उनका अनुसार एउटा अण्डाको उत्पादन लागत करिब १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार प्रतिक्रेट लागत ५७४ रुपैयाँ पुग्छ।
लागत नजिक पुग्नै लाग्दा मूल्य घट्ने प्रवृत्तिले किसान निराश बनेको भन्दै संघले अब मूल्य क्रमशः लागतसम्म पुग्ने अपेक्षा गरेको जनाएको छ।





















प्रतिक्रिया