काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जारी गरिएको शुभकामना सन्देशमा सो कुरा बताएका हुन् ।
उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे ।
थापाले आफ्नो सन्देशमा भनेका छन, ‘नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ। नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो ।’
उनले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । मुलुक, मुलुकवासी र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले जोड दिए ।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन । सन्देशको अन्त्यमा उनले भने, ‘यो नयाँ वर्षले हामी सबैलाई आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा र उत्साह प्रदान गरोस्।’





















प्रतिक्रिया