काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत भई आएको संशोधित विनियमावलीअनुसार अब पूँजी बजारमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य पाँचवटा महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
सूचीकृत कम्पनीको मूल्य सीमा १५ प्रतिशत पुग्यो
नयाँ व्यवस्था अनुसार अब सूचीकृत कम्पनीहरूको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमा (प्राइस लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। यससँगै अब कुनै पनि कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। यसअघि यो सीमा १० प्रतिशत मात्रै थियो।
प्री-ओपन सेसनमा ५ प्रतिशतको सीमा
बजार खुल्नुअघिको ‘प्री-ओपन सेसन’ (बिहान १०:३० देखि १०:४५ बजेसम्म) को मूल्य सीमामा पनि संशोधन गरिएको छ। अब प्री-ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघिको २ प्रतिशतको सीमाका कारण बजार खुल्ने बित्तिकै हुने मूल्य सन्तुलनमा समस्या देखिने गरेकोमा अब वास्तविक मूल्य तय हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
समग्र बजार सूचक (नेप्से इन्डेक्स)मा दुई तहको सर्किट ब्रेकर
यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर (सर्किट ब्रेकर) प्रणालीलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिनेछ:
५ प्रतिशतको पहिलो ब्रेक
कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। (यसअघि ४ प्रतिशतमा २० मिनेटको व्यवस्था थियो)।
८ प्रतिशतमा पूर्ण बन्द
यदि ५ प्रतिशतको ब्रेकपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। (यसअघि ६ प्रतिशतको उतारचढावमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान थियो)।
धितोपत्र बोर्डबाट विनियमावली संशोधनको आधिकारिक पत्र प्राप्त भएसँगै नेप्सेले प्राविधिक तयारी पुरा गरी वैशाख ७ गतेको मिति तय गरेको हो।




















प्रतिक्रिया