Logo

समाचार

नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले नगर विकास समितिको जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका एक पूर्वअध्यक्षलाई पक्राउ गरेको छ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय रसायलीलाई विशेष अदालत काठमाडौँको २०८१ वैशाख २४ गतेको फैसलाले चार वर्ष कैद र ७६ लाख ८२ हजार ४६६ रुपैयाँ जरिवाना तोकेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार फरार रहेका रसायलीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरिएको छ। उनले फरार अभियुक्त पक्राउ अभियानलाई जिल्लाभर तीव्र बनाइएको पनि बताए।

यसअघि सोही मुद्दामा दोषी ठहर भई फरार रहेका नगर विकास समितिका अर्का पूर्वअध्यक्ष पल्टु राना पनि पक्राउ परिसकेका छन्।

उनलाई पाँच वर्ष ११ महिना कैद र ८५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई बेलौरी क्षेत्रबाटै पक्राउ गरी कारागार चलान गरेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १९:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।