Logo

पर्यटन

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए



झापा। पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ७ हजार ६४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

काँकडभिट्टा अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराईका अनुसार साउनदेखि चैतसम्म ८१ देशका पर्यटकले यो नाका प्रयोग गरेका हुन्।

सो अवधिमा सबैभन्दा धेरै भुटानी पर्यटक नेपाल आएका छन्। तथ्यांकअनुसार ४ हजार १५४ भुटानी नागरिक नेपाल प्रवेश गरेका छन्।

भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र बेलायतका पर्यटकको संख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ। अमेरिकाबाट १ हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ पर्यटक नेपाल आएका छन्।

यो नाका हुँदै भित्रिने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौं, चितवन र गोरखालगायतका प्रमुख पर्यटकीय गन्तव्यमा जाने गरेको कार्यालयले जनाएको छ।

आगमनसँगै पर्यटकले नेपालबाट तेस्रो मुलुक जानका लागि पनि काँकडभिट्टा नाका प्रयोग गर्ने गरेका छन्। सोही अवधिमा ९ हजार ९४२ पर्यटक यो नाकाबाट बाहिरिएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ८ हजार ७० पर्यटक नेपाल भित्रिएका थिए। यस वर्षको सोही अवधिमा भने आगमनमा ४२८ को कमी आएको छ।

चालु आवको चैत महिनामा मात्र १ हजार ६ पर्यटक नेपाल भित्रिँदा १ हजार ५४३ जना बाहिरिएका छन्।

यस अवधिमा अध्यागमन कार्यालयले ६ हजार ६९१ पर्यटक भिसा, १२४ नातेदार भिसा, २६ वैवाहिक भिसा र ३६ गैरआवासीय भिसा जारी गरेको जनाएको छ। भिसा शुल्कबापत २ करोड ८० हजार ५२० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १९:५४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।