काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो यात्रामा छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसत आधार दर करिब ५ प्रतिशतको हाराहारिमा पुगेको हो।
बैंकहरुले सार्वजनिक गरेको बैशाख महिनाको ब्याजदर विवरण अनुसार औसत आधार दर घटेर ५.१२ प्रतिशत कायम भएको छ । एक महिनाको अवधिमा बैंकहरुको औसत आधार दर ०.०७ प्रतिशत बिन्दुले घटेको हो । चैतमा बैंकहरुको औसत आधार दर ५.१९ प्रतिशत रहेको थियो ।
बैकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको भए पनि कर्जाको माग भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । आर्थिक शिथिलताका कारण लगानी विस्तार सुस्त हुँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । यही अवस्थाले निक्षेपको ब्याजदर घटाउन र आधार दर थप तल झार्न दबाब सिर्जना गरेको छ ।
हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने गरेका छन् । आधार दर घट्दै जाँदा कर्जाको कुल ब्याजदर पनि घट्ने भएकाले ग्राहकका लागि ऋण केही सस्तो बन्दै गएको छ ।
बैशाख महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकले प्रदान गर्ने देखिन्छ । हाल राष्ट्रिय वाणिज्यको बेस रेट ४.२५ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकको ४.४८ प्रतिशत रहेको छ ।
बेस रेट कम हुने तेस्रो नम्बरमा स्टान्र्डट चार्टड बैंक रहेको छ । बैशाखमा बैंकको बेस रेट४.५३ प्रतिशत रहेको छ । साथै, नबिल बैंकको बेस रेट चैतको तुलनामा बैंशाखमा ०.११ प्रतिशतले घटेर ४.६५ प्रतिशत पुगेको छ भने नेपाल बैकको ०.०९ प्रतिशतले घटेर ४.७८ प्रतिशत रहेको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९० प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९५ प्रतिशत, कृषि विकास बैंकको ५.०६ प्रतिशत, सानिमा बैंकको ५.१८ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.१९ प्रतिशत, प्रभु बैंकको ५.२४ प्रतिशत र सिद्धार्थ बैंकको ५.२६ प्रतिशत बेस रेट रहेको छ ।
बैशाखमा एनएमबि बैंकको ५.२७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२८ प्रतिशत, सिटिजन्स बैंकको ५.३४ प्रतिशत, कुमारी बैंकको ५.४१ प्रतिशत र प्राइम बैंकको ५.४२ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी ब्याज हिमालयन बैंक, नेपाल एसबिआई बैंक र एनआईसी एशिया बैंकको रहेको छ। यी बैंकहरुको बेस रेट क्रमशः ५.४६ प्रतिशत, ५.४९ प्रतिशत र ६.२५ प्रतिशत छ ।




















प्रतिक्रिया